एमाले बुढीगंगाको ३३ बुँदे प्रतिबद्धता, यस्ता छन् प्राथमिकता

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले बुढीगंगा गाउँपालिकाले ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

‘सवैको साथ बुढीगंगाको विकास’ भन्ने नाराका साथ नेकपा एमाले बुढीगंगाले सार्वजनिक गरेको प्रतिबद्धतामा विद्यालय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, रोजगार, कृषि, पर्यटन, खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको एमाले प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

चौधरीको उपस्थितिमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार बलभद्र सरदार (थारु)ले गाउँपालिकालाई ५ वर्ष भित्रमा नमूना बनाईने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले बुढीगंगा क्षेत्रमा रहेका रोजगारीमूलक उद्योगहरुलाई विशेष सहुलियत र करमा छुट दिइने बताउनुभयो ।

पर्यटन प्रर्बद्धनका लागि थारु संस्कृति झल्कने गरिको ‘होम स्टे’ निर्माण गरि आन्तरिक आयबृद्धि गरिने, महिलालाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, स्वास्थ्यमा जनताको पहुँच, रोजगार सिर्जना गर्ने तथा घरनक्सा पासमा आवश्यक अनुगमन गरि व्यवस्थित वसोबासको चाँजोपाँजो मिलाउने र वुढीखोलाका कारण जोखिममा परेका वस्तिलाई जोगाउन नदीमा तटवन्धन निर्माण कार्यक्रम ल्याउनेलगायतका बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने सरदारले बताउनुभयो ।

सार्वजनिक प्रतिबद्धतामा मनमोहन प्राविधिक विश्वविद्यालयमा हरेक वर्ष १० लाखका दरले अक्षयकोषका लागि बजेट विनियोजन गरि १ सय जनालाई सीप परिक्षण सहितको तालिम उपलब्ध गराइने, सडकको स्तरोन्नती गरिने, ५ वर्षभित्रमा बेरोजगारी घटाई स्वरोजगारमुलक कार्यमा संलग्न गराईने, कृषकका लागि विउ विजनमा अनुदान, कृषिलाई प्रोत्साहन, व्यवसायीक पशुपालनका लागि अनुदान, व्यवस्थित कृषि वजारको स्थापना गरिने सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

दलित, पछाडी पारिएको समुदायलाई सीपमुलक तालिम दिई रोजगार बनाईने, जेष्ठ नागरिकलाई सहज रुपमा भत्ता वितरण गरिने लगायतका प्रतिबद्धता अध्यक्षका उम्मेदवार सरदारले सार्वजनिक गर्नुभएको छ ।

उपाध्यक्षका उम्मेदवार तुलसी कुंवर विष्टले शिक्षकलाई मासिक रुपमा तलव भुक्तानीको व्यवस्था गर्ने, जनप्रतिनिधिले जनताको गुनासो सुन्ने व्यवस्था गर्ने र पालिकाका सार्वजनिक वडापत्र जारी गर्ने प्रतिवद्धतामा व्यक्त गर्नुभएको छ । कार्यक्रममा सात वटै वडाका अध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।

Back to top button