प्रधानमन्त्रीलाई नेपालको सुझाव–नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिनुृभएको हो ।

आजको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताउनुभयो । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ नेपालले भन्नुभयो, ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’

उहाँले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले यथार्थ जानकारी दिनुपर्ने पनि बताउनुभयो ।

Back to top button