शम्भुजितको ‘हे संगीता’ गीतको रिमेक फिल्म ‘लप्पन छप्पन २’ का लागि बनाइदैँ

काठमाडौं । सन् १९९७ मा रिलिज भएको फिल्म सुनचाँदीमा समावेश आइटम गीत ‘‘हे संगीता’को अडियो तथा भिडियो रिमेक हुने भएको छ ।

यस्तै फागुन १३ गते प्रदर्शन हुन लागेको फिल्म ‘लप्पन छप्पन २’ मा शम्भुजित बाँस्कोटाको यो चर्चित गीतलाई पुनःप्रयोग गर्न लागिएको हो । बाँस्कोटाकै स्वरमा गीतको रेकर्ड भैसकेको छ ।

आगामी महिना छायांकन हुने यो गीतमा कसले आइटम डान्स गर्नेछ भन्ने तय चाहिँ भैसकेको छैन । निर्देशक मुकुन्द भट्टले गीतमा उपयुक्त हुने आइटम गर्लको खोजी भैरहेको जनाउनुभएको छ ।

संगीतकार एवं गायक बाँस्कोटाले नेपाली दर्शक तथा श्रोताले रुचाउने गरी गीत तयार भएको जानकारी दिनुभएको छ । ‘रिमिक्स र रिमेक भएर यो गीत आए यसले नयाँ जीवन पाउनेछ र नयाँ पुस्ताको दर्शकले पनि रुचाउनेछन्’ उहाँले भन्नुभयो, ।

फिल्म सुनचाँदीमा शम्भुजित र देविका बन्दनाले यो गीत गाउनुभएको थियो । श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठको उक्त आइटम गीत त्यतिबेला निकै रुचाइएको थियो । ‘गीतको मर्म नमर्ने गरी आइटम डान्समा कास्ट गर्ने तयारी छ’ निर्देशक भट्टले भन्नुभयो ।

Back to top button