रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार पुरस्कार

काठमाडौं । नेपालमा पछिल्लो समय रियालिटी शोहरु बाढी नै आइरहेको छ । यही भिडमा ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो ।

यस्तै, फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक श्याम धितालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलि आएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो ‘सिङ्गर’।’ पुरस्कारमा विजेताले नगद २५ लाख सहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने धितालको भनाइ छ ।

नेपाली गीतसंगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायकगायिकाहरुले शोमा भाग लिन सक्ने प्रावधान आयोजकले राखेको छ ।

आगामी वैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै शो प्रशारण सुरु हुने आयोजकले जनाएको छ ।

Back to top button