बेलबारीमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा फेला परेको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ । टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु बिहान ८ः३० बजेतिर फेला परेको थियो ।

उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । तर बम नरहेको पुष्टि भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानका दिन मतदातालाई त्रसित बनाउनका लागि निर्वाचन विरोधी गतिविधि गर्दै आएको समूहले उक्त वस्तु राखेको हुनसक्ने आशंका गरिएको छ । सबै मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच मोरङमा उत्साहपूर्ण हिसाबले मतदान जारी छ । मतदाताहरु बिहानैदेखि मत खसाल्न लाइनमा बसेका छन् । मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सबै केन्द्रमा मतदान जारी छ । मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् ।

Back to top button