आठौं विराट गोल्डकपः उपाधि जित्ने दाउमा सांग्रीला मोरङ र मच्छिन्द्र

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका दुवै टिम उपाधि जित्ने दाउमा बसेका छन् । मच्छिन्द्र फुटबल क्लव काठमाडौं र घरेलु टिम सांग्रीला मोरङ एफए दुवै टिमले उपाधि आफ्नो पक्षमा पार्ने विश्वास ब्यक्त गरेका छन् ।

विराटनगरको सहिद रंगशालामा भोली बेलुका ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदै छ । यस्तै घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

सांग्रीलाले इटहरी गोल्डकपको च्याम्पियन चर्च ब्वाईज युनाइटेड र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनल सम्मको यात्रा तय गरेको हो । सांग्रीलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई ३–० गोलले र सेमिफाइनलमा चर्च ब्वाइजलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटरफाइनलमा कोलकाताका साउर्थन समितिलाई २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

सांग्रीलाले लिग बिजेता र इटहरी गोल्डकपको च्यम्पियन भएको सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको हो ।

यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ–११ फाइनलमा पुगेर उपबिजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्तोले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौं संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो ।

पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो । त्यसपछि आठौं संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो ।

विराटनगरमा आज प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौं संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउनुभयो ।

‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रनेछन्,’ उहाँले भन्नुभयो, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं ।’ न्यौपानेले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रने बताउनुभयो ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको बताउनुभयो । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उहाँको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उहाँले भन्नुभयो ।

सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गर्नुभयो । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उहाँले भन्नुभयो, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

फाइनल भन्दा अगाडी जसरी हाम्रा खेलाडीले खेल खेलेका थिए, त्यही अनुरुप प्लान गरेर फाइनल खेल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सांग्रीलाले ४–४–२ को रणनीतिमा खेल्ने बताउनुभयो । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उहाँले बताउनुभयो ।

सांग्रीलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र हामीले उत्कृष्ट खेल प्रर्दशन गर्ने भएको कारणले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गर्नुभयो । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौं,’ उहाँले भन्नुभयो, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं ।’ लिग बिजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।

चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि रहेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिनुभयो । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । भोलीको फाइनल खेल हेर्न दर्शकका लागि टिकट दर ५ सय रुपैयाँ कायम गरिएको छ ।

Back to top button