आर्थिक विकासका लागि जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुन्छ: राजेन्द्र राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आर्थिक विकासका लागि जिल्ला–नगर उद्योग वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

अवलोकन भ्रमणमा रुपन्देहीबाट आएको सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोलीसँग कुरा गर्दै अध्यक्ष राउतले जिल्ला तथा नगर स्तरबाट नै व्यवसायीहरुले आफ्ना समस्याहरुको आवाज उठाउनु पर्ने वताउनु भयो ।

उहाँले उद्योगी व्यवसायीहरुका वर्तमान समस्याहरुका वारेमा उल्लेख गर्दै भैरहवा र विराटनगरको समस्याहरु एउटै खालको भएको समेत चर्चा गर्नुभयो । विभिन्न जिल्ला, नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमण गर्ने क्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देही, भैरहवाबाट अध्यक्ष ठाकुर श्रेष्ठको नेतृत्वमा टोली विराटनगर आइपुगेको छ ।

उक्त टोलीलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सचिवालयमा स्वागत तथा सम्मान गर्दै अध्यक्ष राउतले प्रदेशमा भएका असल अभ्यासका विषयमा जानकारी गराउनुभयो ।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक प्रदेशको आर्थिक पाश्र्वचित्र प्रकाशन गरेको, प्रदेश भित्रका सवै उद्योग वाणिज्य संघहरुको संस्थागत विकासका लागि सफ्टवेयर जडान गरिएको, उद्योग वाणिज्य संघका कार्यलय प्रमुखहरुलाई अन्य प्रदेशमा सिकाई तथा अनुभव आदान–प्रदान गर्न पठाएको लगायतका विषयहरु जानकारी गराउनुभएको कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार उक्त अवसरमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले भ्रमणको उद्देश्यको विषयमा जानकारी गराउँदै विभिन्न क्षेत्रको आर्थिक क्रियाकलापका वारेमा जानकारी प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले भ्रमणका क्रममा सिकेका असल अभ्यासहरुलाई जिल्ला फर्किएर कार्यान्वयनमा ल्याउने समेत बताउनुभयो ।

यस्तै अध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा उद्योगी व्यवसायीहरु एकजूट भएर अगाडी बढ्नु पर्ने भन्दै आगामी दिन अनुभवहरु साटासाट गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमा भ्रमण टोलिमा आउनु भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भिष्म न्यौपाने सहित २७ जना प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा महासंघका कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Back to top button