एभरेष्टमा यसवर्षदेखी बेलायतको कम्प्यूटर कोर्ष र ह्यापीनेस एजुकेशन अध्यापन हुने

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट स्कूलमा यस शैक्षिक सत्रदेखि बेलायत (यूके) को कम्प्युटर कोर्ष र विश्वका विकसित राष्ट्रहरूमा अवलम्बन गर्न सुरू गरिएको ह्यापिनेस एजुकेसन अध्यापन हुने भएको छ ।

डीजि स्कुलसँगको सम्झौतापछि युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने भएको हो । कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी स्कुलको कोर्षलाई यस शैक्षिकसत्रबाट अध्ययापन सुरु गर्न लागेको प्रीन्सिपल टिकाराम पुरीले बताउनुभयो ।

 

प्रविधि, सीप र संस्कारलाई दीर्घकालीन लक्ष्य बनाएर अघि बढेको एभरेष्टले ह्यापिनेश एजुकेसन र डीजी स्कूलको सहकार्य, लक्ष्य प्राप्तिको लागि माईल स्टोन हुने विश्वास लिएको छ ।

 

ह्यापिनेस एजुकेसनले विद्यार्थीलाई नैतिकवान बनाई दायित्वबोध गराउँदै खुशी रहन सिकाउने तथा कम्प्युटरको यो कोर्षले विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयले जनाएको छ । विद्यालयका सह प्राचार्य नारायण कडरीयाका अनुसार हरेक कक्षा उत्तीर्ण हुँदा विद्यार्थीले एनसीसीको प्रमाणपत्र प्राप्त गर्छन, जुन वेलायतबाट मान्यता प्राप्त हुन्छ । यो कक्षा ३ देखि ८ सम्म अध्यापन गराइन्छ ।

 

यस्तै पछिल्लो समय सामाजिक मूल्यमान्यतामा आएको र्‍हास, मानिसमा बढ्दै गएको निराशा, एक्लोपन जस्ता समस्यालाई न्यूनीकरण गर्न ह्यापिनेस एजुकेशनको कक्षा संचालन गर्न लागेको प्राचार्य पुरीले बताउनुभयो । उहाँका अनुसार यो शिक्षाले हरेक ब्यक्तिलाई म को हुँ ? मेरो दायित्व के हो ? भन्ने अनुभूति गराउँदै आफुलाई खुशी रहन सिकाउँछ । भारतको नयाँ दिल्लीमा सफल प्रयोग भएको यो कोर्ष कोशी प्रदेशमा एभरेष्टले पहिलोपटक लागू गर्न लागेको हो । यस अघि पनि एभरेष्टले आफ्नै करिकुलममा कक्षा ६-९ सम्म मानव मूल्य शिक्षा अध्यापन गराउँदै आएको छ । यसले विद्यार्थीलाई तनावमुक्त रहन, सकारात्मक सोंचको विकास गर्न, सामाजिक सद्भाव कायम गर्न र आफ्नो जीवन सार्थक बनाउन अभिप्रेरित गरिन्छ ।

 

आफ्ना विद्यार्थी विश्वस्तरीय हुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको एभरेष्टले विज्ञान सँग सम्बन्धित खोज, अनुसन्धानमा विद्यार्थीलाई सहयोग गर्न कारखानासँग सहकार्य गर्दै आएको छ । यसले प्रयोगात्मक रूपमा विद्यार्थीलाई अन्वेषण गर्न अभिप्रेरित गर्दछ । यस्तै सानैदेखी ब्यवहारीक शिक्षा प्रदान गर्न रातो बंगलासँगको सहकार्य गरि हरेक शिक्षकलाई तालिम प्रदान गर्दै सोही अनुसार अध्यापन गराउँदै आएको छ ।

 

भौतिक पूर्वाधारले सम्पन्न एभरेष्टले हरेक कक्षा कोठालाई वातानुकुलित बनाएको छ भने प्रोजेक्टर र कम्प्युटरको माध्यामबाट ब्यबहारिक सिकाई सिकाउने गरेको छ । कम्तिमा २ वटा विषयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी हुन अनिवार्य गरेको यस विद्यालयले हरेक खेलकुद र गीत संगितका लागि दक्ष प्रशिक्षक मार्फत नियमित प्रशिक्षण गराउने गरेको छ ।

 

आफ्नै फुटबल मैदान, बास्केटबल कोर्ट, कबर्ड हल, स्वीमिङ पूल लगायत प्रयाप्त खेल मैदान रहेको एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि कुनै कसर बाँकी नराख्ने प्राचार्य पुरीले बताउनु भयो ।

Back to top button