विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाडौंले जितेको छ ।

 

विराटनगरको सहिद मैदानमा गएराती सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

 

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो।

 

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा ७ वटा गोल्डकपमा भाग लिएको मध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा जित्न सफल भएको छ । यसअघि केपी ओली कप र वागमति गोल्डकपको उपाधि जितिसकेको छ ।

 

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गर्नुभयो । उहाँहरुले दुवै गोल अतिरिक्त समयमा गर्नुभयो । निर्धारित ९० मिनेटको समयमा खेल गोलरहित बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

 

अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर बिशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरि टिमलाई अग्रता दिलाउनुभयो । युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर किल्लियर गर्न खोजेपनी सार्थक हुन सकेन । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाउनुभयो । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले जाली चुम्यो ।

 

प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित हुँदै नगद ११ हजार प्राप्त गर्नुभयो । बेस्ट गोलकिपर मच्छिन्द्रका बिशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित हुनुभयो । उहाँहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित हुँदै मोटरसाइकल पुरस्कार प्राप्त गर्नुभयो ।

 

हारपछि सांग्रीला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोलआत्मसाथ गर्न पुगेको बताउनुभयो । ‘मोरङका कप्तान अभिषेक लिम्बु बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो,’ उहाँले भन्नुभयो, ‘जसको कारणले पराजय भोग्नुपर्‍यो ।’ सांग्रीलाका कप्तान अभिषेक लिम्बुले भन्नुभयो, ‘ मच्छिन्द्र बलियो टिम हो । हामीले सक्दो प्रयास गर्दागर्दै पनि हार खेप्नुपर्‍यो ।’

जित हातपारेपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले निर्धारित समयमा गोल हुन नसकेपछि हामीले खेल जितेको बताउनुभयो । ‘यसमा हामी खुसी रहेका छौ,’ उहाँले भन्नुभयो । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न हामी पहिलाबाटै मानसिक रुपमा तयार रहेको बताउनुभयो । ‘दबावको बावजुद पहिलो पटक विराट गोल्डकपको उपाधि जित्नु हाम्रो गौरव हो,’ उहाँले भन्नुभयो, ‘यो सँगै हामीले इतिहास पनि रचेका छौं ।’

 

बिजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

Back to top button