एभरेष्टमा कक्षा १ का विद्यार्थीको दिक्षान्त समारोह

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीको आज दिक्षान्त समारोह सम्पन्न भएको छ ।

प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई आज एक समारोहका बिच दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ जना बालबालिकालाई दिक्षित गरिएको एभरेष्ट मन्टेश्वरीकी इन्चार्ज मेलिना ओलीले बताउनुभयो ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले युग अनुसार अभिभावकले समेत रुपान्तरण हुन सके बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले एभरेष्टले विश्वस्तरीय शैक्षिक वातावरणमा अध्ययापन गराउने प्रयत्न गरिरहेको भन्दै घरमा पनि सोहि अनुसारको वातावरण बनाउन अभिभावकसँग आग्रह गर्नुभयो । मस्तिकको तिब्रतर विकास हुने उमेरका बालबालिकालाई मोबाइल तथा ग्याजेटबाट सकेसम्म टाढा राख्न आग्रह गर्दै प्रिन्सिपल पुरीले आफ्ना बच्चालाई सक्दो बढी समय दिन समेत आग्रह गर्नुभयो ।

दिक्षान्त समारोहमा अभिभावकका तर्फबाट आफ्ना विचार राख्दै डा. एलिना बरालले एभरेष्ट मन्टेश्वरीमा बालबालिकालाई हरेक दिन नयाँपन दिने वातावरण बनाएको भन्दै प्रशंशा गर्नुभयो । ‘प्रत्येक दिन फरक एउटा विषयको मात्र अध्ययापन गराएर बालबालिकालाई हरेक दिन नयाँपन दिनु अत्यन्त सकारात्मक पक्ष हो’, उहाँले भन्नुभयो, ‘त्यसमाथि प्रयाप्त अतिरिक्त कृयाकलापले बालबालिकाले रमाई रमाई सिक्ने गरेको अनुभूति मलाई पनि भएको छ ।’

आफ्नी छोरी पढाईमा तिक्ष्ण भएपनि कहिल्यै नहास्ने, राम्ररी नबोल्ने भएपछि विद्यालय परिवर्तन गर्दै एभरेष्टमा ल्याएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘धन्न यहाँ ल्याएछु, अहिले छोरीमा आएको परिवर्तनले दङ्ग भएकी छु, धन्यवाद छ एभरेष्ट परिवारलाई ।’ बालबालिका काँचो माटो जस्तै रहेको भन्दै उहाँले उनीहरुलाई आकार दिने काम घर र विद्यालयको हुने बताउनुभयो । उहाँले अझ पहिलो पाठशाला घर रहेको भन्दै सबैले बालबालिकालाई सोहि अनुसारको वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

दिक्षान्त समारोहमा बालबालिकाले विभिन्न गितमा नृत्य प्रस्तुत गर्दै अभिभावकलाई मनोरञ्जन प्रदान गरे ।

Back to top button