धनकुटामा आगलागिमा परी गम्भीर घाइते भएका एक बालकको मृत्यु

विराटनगर । धनकुटामा जंगलमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका १ बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका – ३ कागतेका राजु श्रेष्ठका ३ वर्षका छोरा विवेकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आइतबार दिउँसो घर नजिकै जंगलमा लागेको डढेलोमा परेर श्रेष्ठका १० वर्षका छोरा रोशन र ३ वर्षका छोरा विवेक गम्भीर घाइते भएका थिए ।

विवेकलाई विराटनगरबाट थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

आगोमा जलेर गम्भीर घाइते भएका दुबै बालकलाई धनकुटामा प्रारम्भिक उपचार गरी थप उपचारको लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल त्याइएको थियो। विवेकको यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ ।

घर नजिकै बारीमा सुकेको झारपात भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलोको रुपमा फैलिएको थियो । सोही डढेलोमा परेर २ बालक गम्भीर घाइते भएका थिए। विवेकको घाँटी मुनी सबै शरीर आगोले जलेको थियो ।

Back to top button