इलामको विकासको जिम्मा सुहाङ्गको, सुहाङ्गको जिम्मा मेरोः ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा सुहाङ्गले लिने बताउनुभएको छ । आज चुनावी सभालाई सम्वोधन गर्न इलाम पुग्नुभएका अध्यक्ष ओलीले इलामको विकासको जिम्मा सुहाङ्गले लिने र सुहाङ्गको जिम्मा आफुले लिने बताउनुभएको हो ।

उहाँले फाल्गुनन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

‘हामी फाल्गुनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने ? इलाम क्षेत्र नम्बर– २को चुनावी सभामा उहाँले माङ्सेबुङ्गमा यस अघि गरेको भाषण सम्झँदै भन्नुभयो,‘हामीले जे जे भनेका छौ त्यो पुरा गर्न अहिले पनि लागिरहेका छौ ।’

नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा आफूहरूले लेखेको भन्दै उहाँले भन्नुभयो,‘एमालेले कुनै पनि विश्वासलाई हेला गर्दैन । आफ्नो धर्म के हो पालना गर्नु नि अरूलाई किन हेला गर्नु ?’

उहाँले अहिले अरूको धर्मलाई हेला गर्ने चलन बढेको भन्दै यो राम्रो कुरा नभएको बताउनुभयो । सामाजिक सद्भाव कायम गर्न र सामाजिक समानता कायम गर्न एमाले कृयाशिल रहेको भन्दै उहाँले सबै धर्म भाषा, भाषी, सस्कृतीको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुने बताउनुभयो ।

इलाम बनाउने हो भने एमालेले मात्रै समाधान गर्न सक्ने उहाँले बताउनुभयो । देउमाई नगरपालिकामा खानेपानीको समस्या छ यो समस्या सुहाङ्ग नेम्बाङ्गले समाधान गर्ने बताउनुभयो । एमालेले तीन वर्षमा गरेको कामपछि विकास हुन नसकेको भन्दे अध्यक्ष ओलीले नेकपा एमालेले धेरै क्षेत्रमा विकासको पाइला चालेको तर बिचमा अरू सरकार आएकाले रोकिन पुगेको बताउनुभयो ।

सुहाङ्ग नेम्बाङ्ग सुवास नेम्बाङ्गको छोरो मात्रै नभएर देश बनाऊँ भनेर सङ्कल्प बोकेर हिडेको युवा भएको दाबी गर्नुभयो । ओलीले भन्नुभयो, ‘पैसा कमाउन ,बाटोको ठेक्का लिएर कमिसन खान उकाली ओराली सुहाङ्ग हिँडिरहेको छैन । समृद्ध नेपाल सुखी नेपाली बनाउने सङ्कल्प बोके हिँडेको छ । उसलाई जिताएर पठाउनुस् ।’

उहाँले सांसद हुने त काम गर्ने मात्रै हो तर देश बनाउने ठुलो कुरा हो । अध्यक्ष ओलीले इलाम आउँदा आफू सधैँ सुसास सँगै आउने गरेको भए पनि अहिले सुभाषको अनुपस्थितिमा उहाँको उद्देश्यलाई पुरा गर्ने सङ्कल्प लिएर इलाम आएको ओलीले बताउनुभयो ।

एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाआयोजना गरेको हो । सभामा अध्यक्ष ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्नुभएको छ ।

Back to top button