आजबाट छठ पर्व सुरु: पहिलो दिन व्रतालु माछा र कोदोका परिकार बार्दै

विराटनगर । अत्यन्त श्रद्धा, निष्ठा र भक्तिभावपूर्वक मनाइने छठपर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।

पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखोनिँदो भई शुद्धि हुने परम्परा छ । यस दिन व्रतालुले माछा र कोदोबाट बनेका खाद्य परिकार खान छाडेर व्रतको तयारी थाल्छन्।

त्यस्तै, पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि अपनाइने छ भने तेस्रो दिन शनिबार दिनभर उपवास बसी साँझको समयमा विधिपूर्वक घरमा सख्खर हाल-बनाइएको खिर कुलदेवता र छठी मातालाई अर्पण गरी खरना विधि मनाइने छ ।

यस वर्ष पर्वअन्तर्गतको मुख्य पूजा आइतबार साँझ गरिनेछ, जसलाई ‘सझुका अर्घ्य’ भनिन्छ । यस दिन दिनभर उपवास बसेका व्रतालुहरू साँझको समयमा अस्ताउँदो सूर्यलाई घरमा बनाइएका ठेकुवा ,भुसुवा लगायतका प्रसाद सामग्रीसहित जलाशयमा गई अर्घ्य अर्पण गर्नेछन् ।

पर्वको समापन भने सोमबार अर्थात् ‘पारणा’का दिन हुनेछ। यस दिन उदाउँदो सूर्यलाई अघिल्लो साँझ झैँ विधिपूर्वक अर्घ्य दिएर व्रत समापन गरिन्छ । त्यसपछि घर फर्किएर इष्टमित्र तथा परिवारजनलाई प्रसाद वितरण गर्ने परम्परा छ ।

Back to top button