सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक रेडियोहरूले जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७औं साधारणसभामा बोल्दै उहाँले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना,मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

उहाँले भन्नुभयो,‘सामुदायिक रेडियोहरूले एफएम रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।

सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएका छन् । यो हामी सबैका लागि खुसीको विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनका लागि गरिएको महान् जनयुद्ध,दोस्रो जनआन्दोलन एवं न्याय, समानता र स्वतन्त्रताका पक्षमा भएका न्यायपूर्ण आन्दोलनहरूमा रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयोे।

शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सामुदायिक रेडियोहरूले जुन भूमिका निर्वाह गरेका थिए, संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरूद्ध र लोकतान्त्रिक प्रणालीको विकासका निम्ति पनि रेडियोले खेलेको भूमिकासमेत त्यत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले सामाजिक विभेद,कुरीति एवं विसङ्गतिका विरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवं रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेडियोकर्मीहरूलाई धन्यवाद समेत दिनुभयो।

Back to top button