सुनकोशीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी

सिन्धुली । सुनकोशी नदीमा स्कारपियो खसेर हिजोदेखि बेपत्ता भइरहेकाहरुको आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ ।

हिजो साँझ अबेरसम्म खोजी गरिए पनि गाडी र बेपत्ताको कुनै टुङ्गो लाग्न सकेन । नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी, स्थानीयको संयुक्त टोलीले आज पनि बिहानैदेखि खोजी कार्य थालेको हो।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बा १ झ ७४६७ नम्बरको स्कारपियो हिजो दिउँसो मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो।

दुर्घटनामा (सीटीईभीटी) का प्रशासन निर्देशक भानु नगरपालिका ९ तनहुँका ५७ वर्षीय ष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका ७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतप्पा नगरपालिका– ५ ईलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता हुनुभएको छ ।

उहाँहरु खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै गर्दा दुर्घटना भएको हो । जीपका चालक राप्ती गाउँपालिका–६ दाङका ३१ वर्षीय का कृष्ण चौधरी सुनकोसीबाट पौडिएर निस्कन सफल हुनुभएको छ ।

उहाँलाई खुर्कोट स्थीत शुभजिवन सामुदायिक अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ। उहाँको मुख र हातमा चोट लागेको छ ।

स्कारपियोका चालक चौधरीका अनुसार ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर सुनकोशी नदिमा खसेको थियो। चौधरीको उपचारपछि नियन्त्रणमा लिएर अनुसनधान थालिएको छ। स्कारपियो सडकबाट १५० मिटर तल नदीमा खसेको हो ।

Back to top button