काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको आधिकारीकताको लागि निर्वाचन आयोगले आज कार्यकारीणि समितको टाउको गन्ने काम सम्पन्न गरेको छ ।
आयोगले टाउको गन्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत देखिएपछि महन्थ ठाकुर पक्षले भने अहिले नै कसैले धेरै उत्साहि भइ हाल्न आवश्यक नरहेको प्रतिकृया दिएको छ ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कोही उत्साहित हुनुपर्ने अवस्था नरहेको बताएको हो ।
आज निर्वाचन आयोगमा यादव पक्षको बहुमत देखिए पनि त्यसको अर्थ नहुने ठाकुर पक्षको भनाइ छ । नेता जितेन्द्र सोनलले आफूहरूले आयोगको निर्णयअनुसार निर्वाचन आयोगमा विमती रहँदा रहँदै पनि हस्ताक्षर सनाखत गराएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘ आयोगको निर्णय अनुशार हामीले आज सनाखत गर्यौँ । भोलि कसको पक्षमा रिजल्ट आउँछ त्यो पछिको कुरा हो ।’
अहिले पनि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै सर्वोच्चले दुवै पक्षलाई साउन १५ गतेको लागि छलफलमा बोलाएकाले त्यसपछि मात्रै एउटा निष्कर्ष निस्कने उहाँको भनाइ छ ।