संसदको अर्को बैठक १८ माघमा

काठमाडौं । संसदको अर्को बैठक माघ १८ गते बस्ने भएको छ। बैठक माघ १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।

आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा अनिता देवी,अमरेशकुमार सिंह,गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव र प्रेम सुवाल रहनुभएको छ ।

यस्तै, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही पनि समितिमा रहनुभएको छ ।

समितिलाई १५ दिनको समय दिइएको छ । सभामुखको सामान्य निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैंले व्यवस्थित गर्न सक्नेछ । समितिका सदस्यहरुले आफूमध्येबाट एकजना सभापति चयन गर्नेछन् भने समितिले आवश्यक देखेमा विशेषज्ञलगायत सम्बन्धित अन्य व्यक्तिको सहयोग लिनसक्नेछन् ।

यसैबीच प्रतिनिधिसभाका सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखको अनुपस्थितिमा कृष्णगोपाल श्रेष्ठ र उपसभामुखको अनुपस्थितिमा विमला सुवेदीले बैठक सञ्चालन गर्नेबारे सभामुख घिमिरेले सदनलाई जानकारी दिनुभएको थियो।

यस्तै, सांसदहरुले नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिएका थिए।

Back to top button