एमाले व्यक्तिमा होइन, मुद्दामा केन्द्रीत छः एमाले नेता बाँस्कोटा

अप्रत्याशित ढंगले आएको महाअभियोग प्रस्ताव र एमसिसी प्रवेशको मुद्दाले अहिले राष्ट्रिय राजनीति गञ्जागोलको अवस्थामा छ । अबको राजनीतिक दिशा के हुने हो ? अनुमान मात्र लगाउने अवस्थामा छ । अर्को तिर चर्को दवावका कारण नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय तह निर्वाचन घोषणा गरेको छ । यो सँगै निर्वाचन चाहने राजनितिक दलहरु चुनावको तयारीमा लागेका छन् । अझ निर्वाचनको माग राख्दै चर्को दवाव सिर्जना गर्ने नेकपा एमालेले त स्थानीय तहलाई लक्षित गर्दै प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश १ मा गत १ र २ गते प्रदेश राजधानी विराटनगरमा सम्पन्न भइसकेको छ ।
यीनै बिषयवस्तुमा आधारीत रहेर नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटासँग गरिएको कुराकानीको सम्पादित अंश :–

नेकपा एमाले चुनाव हुने कुरामा ढुक्क छ ? पार्टीले त चुनाव केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण नै गरिरहेको छ ।

हामी नेकपा एमालेका कार्यकर्ता भनेको लोकतान्त्रिक अभ्यासबाट सिक्दै र अभ्यस्त हुँदै अघि बढेको पार्टीका कार्यकर्ता हौं । अर्थात् भनौं, लोकतन्त्रका अक्षुण्य पक्षपाती । लोकतन्त्र भनेको जनसहभागिता सुनिश्चित शासन व्यवस्था हो । जनअभिमत नै यसको आधार हो । जनअभिमत प्रकट हुने थलो भनेकै निर्वाचन नै हो । निर्वाचनले नै जनताप्रति पूर्ण उत्तरदायी शासन व्यवस्थाको परिकल्पना गर्छ । हाम्रो संविधान र संवैधानिक प्रावधानअनुसार यो आवधिक रूपमा भइरहनुपर्छ । संविधानतः यतिबेला स्थानीय तह निर्वाचनको समय सीमा पूरा हुनै लागेको छ । यसलाई अद्यावधिक गर्न नै हामीले एकस्वरमा निर्वाचन भन्यौं र मिति घोषणाका लागि दवाव दियौं । फलतः चुनावको मिति घोषणा भयो । अब चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौं । त्यसैले पनि हामी चुनावको तयारीमा लागेका छौं । यसैको प्रारम्भिक संकेत थियो विराटनगरमा सम्पन्न– चुनाव केन्द्रीत प्रशिक्षण एवम् अभिमुखीकरण कार्यक्रम ।

गठबन्धनकै महाअभियोग प्रस्ताव र एमसीसी प्रवेशको मुद्दाले चुनावलाई बिथोल्ने त होइन ?

दिनहुँजसो राज्य सञ्चालनका सन्दर्भमा आइलाग्ने कतिपय विषयवस्तुहरू र आवधिक रूपमा गर्नुपर्ने चुनावलाई एकैसाथ बुझ्न हुँदैन । महाअभियोग प्रस्ताव र एमसिसी प्रवेशको मुद्दा सत्तापक्षले अघि सारेको तत्कालको कार्ययोजना कार्यान्वयनको कुरा हो भने चुनाव गर्नु भनेको संवैधानिक कार्यदिशा निर्देशित अंशको कार्यान्वयनको हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई गतिशील जीवन प्रदान दीर्घकालीन महत्त्वको विषय हो । यद्यपि, यसबीचमा यो महाभियोगको प्रस्ताव छापामार शैलीमा किन आयो ? अहिले नै महाअभियोग प्रस्ताव आउन जरुरी थियो ? यसभित्रको राजनीतिक अन्तर्य के हो ? आवेगमा आएर आक्रोश पोख्ने मात्र भन्दा पनि गठबन्धनसत्ताका गतिविधि र विकसित घटनाक्रमलाई नजिकैबाट पढ्ने काम भइरहेको छ । एमसिसीको विषय नयाँ होइन । यसलाई धेरै चर्चामा ल्याउन जरुरी छैन । यद्यपि, अनावश्यक रुपमा यस्ता विषयलाई बहसमा ल्याएर मूल विषयलाई ओझेल पार्ने खतरा हुन्छ कहिलेकाहिँ । तपाईंले भन्नुभएझैँ बन्दै गएको चुनावी वातावरणलाई बिथोल्न यो कारक बन्न सक्ला । भनिन्छ नि, हलो अड्काउने र गोरु पड्काउने नियत हुनसक्छ । यसतर्फ भने हामी सबै चनाखो र सतर्क हुनुपर्छ । व्यक्तिगत रूपमा मलाई चाहिँ के लाग्छ भने लोकतन्त्रप्रति विश्वास गर्ने जोकसै पनि चुनावबाट भाग्न र पन्छिन मिल्दैन । चुनाव सबैलाई चाहिएको छ । अरुको त कुरा नगरौं वर्तमान गठबन्धनको सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेस जुन देशकै सबैभन्दा पुरानो पार्टी हो उसले लोकतन्त्रको घाँटी निमोठ्न सक्ला र ?

चुनाव भएन भने के हुन्छ ?

हामीले त्यो परिकल्पना नै गरेकै छैन । चुनाव हुन्छ, हुन्छ । पासोमा परियो भने के हुन्छ भने प्रश्नको कुनै उत्तर हुँदैन । म सकारात्मक परिवर्तनको पक्षपाती हो, नकारात्मक सोच्दिन ।

एमसिसी आज त टेबुल हुन सकेन । फेरी अर्को बैठकमा होला तर यससम्बन्धी एमालेको धारणा के हो ?

एमसिसी सत्तापक्षको बिजनेस हो । टेबुल गर्ने नगर्ने उसको विषय हो । एमाले सत्तामा भएको के गथ्र्यो त्यो विषय बन्नसक्छ । तर अहिले एमाले प्रतिपक्षमा छ । एमसिसीबारे सत्तापक्षको धारणा बाहिर आउनुपर्छ । हामीले एमसीसीलाई संसदीय महत्त्वको विषयवस्तु बनाइनु हुँदैन, यसको परियोजना स्थल नेपाली सेनाकै निगरानीमा हुनुपर्छ र लगानी नेपाल सरकारको प्रचलित व्यवस्थाअनुसार हुनुपर्छ भनेकै छौँ । हाम्रो कुरा यहिं हो । एमाले अध्यक्ष ओलीका कारण भाग खान पुगेन, मानसम्मान भएन, राज्यको स्रोत दोहन गर्न मिलेन, सुविधा र अवसरको बाँडफाँड आफूअनुकूल भएन भनेर बामपंथी राजनीतिबाट बाटो बिराएका व्यक्तिहरू सरकारमा छन् । एमसिसी टेबुल मात्र होइन, पास पनि गर्लान् । अदालतको परमादेशमार्फत बनेको गठबन्धन नाउँको अपवित्र मिलन नै यसैका लागि हो । एमसिसीप्रति उहाँहरूको फरक मत भए एमसिसी पास गराउन चाहने राजनीतिक दलसँग उहाँहरूको सहकार्य हुने थिएन, सरकारमा अल्झिने थिएनन् । उहिल्यै सरकारबाट बाहिरिएका हुन्थे । एमसीसी आए गठबन्धन टुट््छ भन्नु भनेको केवल भागबण्डाका लागि बार्गेनिङ मात्र हो । यसमा एमालेलाई मुछ्न जरुरी छैन । संसदीय गणितभित्र पनि एमालेबाहेक उहाँहरू बहुमतमा हुनुहुन्छ । किन चाहियो एमाले ?

महाअभियोगको विषय कसरी अघि बढ्छ त ?

गठबन्धनमा संलग्न राजनीतिक दलका माथिल्लो तहका नेतालाई समेत थाहै नदिइकन यो महाअभियोगको प्रस्ताव छापामार शैलीमा किन आयो ? सत्तापक्षबाटै महाअभियोग प्रस्ताव आउन जरुरी थियो त ? यसभित्रको राजनीतिक स्वार्थ के होला ? आवेग आएर आक्रोश पोख्ने मात्र भन्दा पनि गठबन्धन नाउँको स्वार्थ समूहका गतिविधि र विकसित घटनाक्रमलाई नजिकैबाट सुक्ष्म ढंगले अध्ययन गर्ने क्रममा छौं । महाअभियोगका हतियार बनाइएका प्रधानन्यायधीसलाई एमालेले बोक्नु, उचाल्नु र थेचार्नु पनि छैन । यद्यपि, काउण्टर दिन सकिन्छ तर यसले बन्दै गएको चुनावी माहौललाई बिथोल्ने र बिगार्ने हो कि ? भनेर उत्तिकै जिम्मेवारीबोध गर्न पनि आवश्यक छ । यतिबेला चुनाव नहुनु भनेको बामे सर्दै अघि बढेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्नु हो । त्यसैले गठबन्धनले चाहेकै त्यहि हो भने कहिलेकाँही सघाउ पुग्न सक्छ यसमा सचेत हुनुछ ।

उसो भए अब एमालेको गन्तव्य भनेको चुनाव मात्र हो त ?

हो, यतिबेला हामीले चाहेको चुनाव मात्र हो । चुनाव भनेको राजनीतिक दलहरूको मापन र हैसियत निर्धारण पनि हो । हामी एमालेजन आफ्नो हैसियतको मापन र निर्धारण गर्न चाहन्छौं । हामी चुनावमार्फत प्रकट हुने जनअभिमत लिएर हिजो थालनी गरिएका अधुरा अपुरा कार्यभारहरूलाई पूरा गर्न दृढ संकल्पित छौं । समृद्ध नेपालः सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादको रोलमोडल तयार गर्न आतुर छौं ।

एमालेसँग चुनावमा जाने र जनमत लिने आधार के हुन् ?

एमाले संविधानको पूर्ण पालना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनअपेक्षाअनुरुप कार्यान्वयन गर्न प्रतिबद्ध छ । हिजो एमाले सरकारको नेतृत्वमा गरेका र थालनी गरिएका कामहरुले जनतालाई प्रत्यक्ष प्रभाव पारेको छ । त्यसैले एमाले नेतृत्वको सरकारले गरेका कामले नै जनताको अभिमत निर्वाध प्रकट भएको छ । चुनाव त होस् भागबण्डामा रमाउनेलाई देखाइदिन्छौं र एमालेलाई भोट दिन्छौं भन्नेहरुको जमात दिनानुदिन बढ्दै गएको छ । हिजो हामीले जारी गरेका सवै तहका घोषणापत्र लिएर हामी जनताका माझमा जान्छौं । हामीले यसबीचमा कति काम गर्यौं र कति के कारणले बाँकी रह्यो जनताका बिचमा भन्छौं । र आगामी हाम्रा देश र जनताका निम्ति सोचिएका योजनाहरु सुनाउँछौं । हामीले यति गरिरहँदा मलाई विश्वास छ आमजनताले रुचाएको र सन्ततीको भविष्यका लागि पनि रोज्ने पार्टी भनेकै एमाले हो । र चुनाव चिन्ह सूर्य नै हो ।

कम्युनिष्ट पार्टीहरू त चुनावका बेला एकै हुने होलानी फेरी ?

हा.हा.हा. अर्को हाँसोको श्रृंखला । को हो कम्युनिष्ट ? को हो गैरकम्युनिष्ट ? झण्डा उस्तै लाग्दैमा कम्युनिष्ट हुन्छ ? धनबहादुर भनिने मानिस गरीब र कमजोर हुन सक्दैन ? आफ्नो नेतृत्वको सरकार ढालेर राजनीतिक प्रतिद्वन्द्वी मानिएको शक्तिसँग शरण पर्न जाने, प्रधानमन्त्री बनिदेउ भनेर धुपधुँवा गर्नेहरु कम्युनिष्ट हुन्छन् ? न मुद्दा, न मिसन । किन कम्युनिष्ट नामधारीसँग एक हुनु ? यो सम्भव छैन र हुँदैन ।

नमिल्दा त कम्युनिष्टले कम्युनिष्टलाई नै हराउने होला नि ?

त्यस्तो हुदैन । चुनावसम्म आधारभूत तहका कम्युनिष्टहरू एमाले भइसकेका हुन्छन् । रहे बचेका दुर्गन्धपूर्ण केही मानिसको कुनै प्रभाव हुदैन । मतदाताले राम्रोसँग बुझेको छ । यतिबेला केहि तत्वहरु आफ्नो हैसियत जोगाउनका लागि गठबन्धन टिकाउने र एमाले हराउने अभियानमा छन् । तर हराउन सक्ने तागत कसैमा भएको भए सुतेका बुढानिलकण्ठलाई नै जगाउने थिए । रह्यो गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले चुनावसम्म नै गठबन्धन भनेको छैन । पार्टीभित्र नै त्यसको बिरोध छ । अनि सवैभन्दा पूरानो र लोकतान्त्रिक पार्टी आफ्नै अस्तित्वलाई जोखिममा राखेर गठबन्धनबाटै चुनावमा जाला मलाई लाग्दैन । आखिर गईहालेपनि देश र जनताले बुझेका छन्, आजको आवश्यकता एमाले हो । देशको स्वाभिमानको रक्षाका लागि होस या जनताको हितका लागि । एमालेले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्ने अठोट सम्पूर्ण नेपालीले लिएको अनुभूति मैले नि गरेको छु ।

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?

हामी व्यक्तिमा होइन, मुद्दामा केन्द्रीत छौं । हामीकहाँ नेतृत्वको खडेरी छैन, निर्विकल्प कोही छैन । विषयविज्ञ र सम्भावित तमाम उम्मेदवार नेता कार्यकर्ताबीच राजनीतिक–बैचारिक दिशाबोधका हिसावले गर्न सकिने कामहरूका सन्दर्भमा गहिरो अध्ययन, मनन र गहन बिचार विमर्शमा छौं । यसबीचमा हामीले के गर्न सक्यौं, के गर्न सकेनौं ? किन गर्न सकेनौं ? जवाफ तयार गर्दैछौं । परिवर्तित सन्दर्भमा गर्नुपर्ने कामका आधारभूत मुद्दाहरू के–के हुन् ? सुक्ष्म पहिचान गर्दैछौं । यहाँको विशेषता र आवश्यकताका आधारमा सामाजिक–आर्थिक समृद्धिको परिकल्पनाको चित्र कोर्दैछौं । किन एमालेको अपरिहार्यता ? यसलाई पुष्टि गर्ने आधारशिला तयार गर्दैछौं।

अहिलेका एमालेका जनप्रतिनिधिको भूमिका कस्तो देख्नुभयो ?

भरखरै सम्पन्न अभिमुखी कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई सुन्दा– यसबीचमा घेरै काम भएका छन् । गाउँ–गाउँमा बाटाघाटाको सञ्जाल, पुल, कल्भर्ट, झोलुंगे पुल, नदीकटान रोकथाम, तटबन्धन निर्माण, अधिकांश पालिका र वडा कार्यालय भवन, मठमन्दिर, सामुदायिक विद्यालय भवन, गुम्बा र मदरसा, सिमसार पर्यटकीय क्षेत्र, सांस्कृतिक स्थल संरक्षण र सम्पदा, सामुदायिक भवन, संग्रहालय, जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका काम भएका छन् । यस्तै शीतभण्डार, प्राविधिक विद्यालय, धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्र, रंगशाला, ज्येष्ट नागरिक चौतारी, बालउद्यान केन्द्र, कवर्ड हल, व्यायामशाला निर्माण भएका छन् । धिमाल समुदायको संग्रहालय, लोपोन्मुख सन्थाल जाति सांस्कृतिक संग्रहालय, आधुनिक वधशाला, आधुनिक कृषि तथा सागसब्जी बजारस्थल, नमुना विद्यालय, खेल मैदान निर्माण भएका छन् । सामुदायिक विद्यालयहरूमा बालबालिका दिवा खाजा कार्यक्रम, प्रसुति खर्च सहयोग कार्यक्रम, भूमिहीन सुकुम्बासीको पहिचान, फोहोरमैला व्यवस्थापन कार्यक्रम, खरको छाना विस्थापन कार्यक्रम, अँध्यारोमुक्त अभियानअन्तर्गत निशुल्क विद्युत जडान भएका छन् । स्थानीय सरकारले पूरै ५ वर्ष काम गर्न पायो । स्थानीय तहलाई सरकार गठन, विघठन र फेरबदलको असजिलो छैन । ढुक्कसँग गर्नुपर्ने र गर्न सकिने धेरै अवसर र आधारहरू थिए । यी माथिल्ला पूर्वाधार विकास र भौतिक निर्माणको क्षेत्रमा धेरै काम भए पनि मानव विकासको क्षेत्रमा अपेक्षाकृत हुन सकेको छैन । यो पहिलो कार्यकाल भएर पनि हुनसक्छ, अब गति लिइन्छ ।

अबको स्थानीय तहमा कस्ता उम्मेदवार एमालेको प्राथमिकतामा ?

सर्वप्रथम त एमालेका लागि व्यक्ति उम्मेदवार होइन, पार्टी आफैं उम्मेदवार हुने हो । व्यक्ति जो सुकै हुन सक्छ । चुनाव चिन्ह सूर्यबाट लड्ने हो र त्यसमै खसेको मतका आधारमा निर्वाचित हुने हो । व्यक्ति त एउटा प्रतिनिधिपात्र मात्र हो । त्यसैले टिकट पाउँदा म र मेरो पार्टी नपाउँदा जानेकै छ भन्नेको पहिचान भने पार्टीले गर्नेछ । पार्टी संगठनमा उल्लेख्य योगदान गरेको, पदमा रहँदा वा नरहँदा कम्युनिष्ट आचरणयुक्त, राजनीतिक पार्टीप्रतिको इमान र निष्ठालाई बचाउने, पार्टीले अघि सारेका नीति–कार्यक्रमलाई अघि सार्ने र कार्यान्वयनमा ल्याउने, पार्टीलाई जनमनमा स्थापित गराउन सक्ने, सरल, सामाजिकरुपमा पारदर्शी ब्यक्तित्वलाई नै एमालेले अघि सार्छ । जसलाई आम जनताले स्वीकारेर अघि बढ्नुहुनेछ ।

तपाई पथरी शनिश्चरे नगरपालिकाको बासिन्दा । यहाँका आकांक्षी तपाई पनि हो ?

पथरी शनिश्चरे नगरपालिका निवासी भएकाले मतदाता म पनि हुँ । आज प्राप्त मेरो जिम्मेवारीका हिसावले मैले आफ्नो पालिकाको मात्र होइन, जिल्लाकै चुनावी अभियान सम्हाल्नुपर्छ । जहाँसम्म मेरो आकांक्षाको कुरा गर्नुभयो, पार्टीले जे जिम्मेवारी दिन्छ मैले त्यो वहन गर्ने हो । पार्टीमा म भन्दा योग्यतम् दर्जनौं नेताहरू एक से एक हुनुहुन्छ ।

प्रस्तुतीः सागर गौतम

Back to top button