लडाइँ जित्नु छ… कस्तो बनाउने पार्टी ?

– युवराज बास्कोटा ‘यज्ञ’

पार्टी निर्माणमा नेता कार्यकर्ताको भूमिकालाई पहिलो महत्त्वको विषय ठान्नुहुने जननेता मदनकुमार भण्डारी कुनै एउटा सन्दर्भमा नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी भन्नुहुन्छ– सामाजिक व्यक्तित्व र राजनीतिक संघसंगठनको नेतृत्व विकासमा अग्रगामी फड्को मार्न चाहने सम्बन्धित तहको जिम्मेवार अगुवाले मातहतको पंक्ति आफूभन्दा तेजतर्रार, पढालेखा, टाठोबाठो र सम्भावना भएको व्यक्तिको लामबद्ध उपस्थिति चाहन्छ ।

यथास्थितिमै रमाउन चाहने अगुवा नेतृत्वले औसतभन्दा अलिमाथि उठेको वा अग्रणी क्षमता भएकोलाई चाहँदैन, रुचाउँदैन । आफैंलाई उछिन्ने पो हो कि भन्ने डर, भय र त्रासले सशंकित हुन्छ, भित्रभित्रै फतक्कै गलेको हुन्छ । यस्तो अगुवाबाट समाजको रुपान्तरण, परिवर्तन र व्यवस्थानका लागि निर्दिष्ट राजनीतिक कार्यक्रमअनुसारको उद्देश्य हासिल गर्न सकिँदैन ।

यथास्थितिमै रमाउन चाहने अगुवा नेतृत्वले औसतभन्दा अलिमाथि उठेको वा अग्रणी क्षमता भएकोलाई चाहँदैन, रुचाउँदैन । आफैंलाई उछिन्ने पो हो कि भन्ने डर, भय र त्रासले सशंकित हुन्छ, भित्रभित्रै फतक्कै गलेको हुन्छ ।

हामी कस्तो कम्युनिष्ट पार्टी, आन्दोलन र समाज बनाउँदैछौँ, हाम्रो नेतृत्व निर्माणको ध्यानदृष्टि र कार्यक्षमताले यो सबै विषयवस्तु निर्धारण गर्छ । अर्थात् सामाजिक मनोविज्ञानको नेतृत्व गर्ने विषय कार्यक्षमताका आधारमा तय हुन्छ, फगत अपेक्षा मात्र गरेर पुग्दैन ।

जननेताको यो कालजयी प्रशिक्षणात्मक मन्तव्य आज पनि यो उत्तिकै सामयिक र प्रसंगयुक्त छ । हामीलाई निर्दिष्ट गरिरहेको प्रतीत हुन्छ । कुनै इकाइअनुरुप क्रियाशील यसको जीवनमा तहगत प्राथमिकता र प्रतिस्थापनका हिसावले मात्र होइन, सामरिक वस्तुस्थितिमाथि पर्याप्त अध्ययन गर्न नसक्ने, विश्लेषणात्मक ढंगले सोच्न नसक्ने, संश्लेषणात्मक ढंगले बिचार्न नसक्ने र रणनीतिक महत्त्वका योजनाउन्मुख कार्यसम्पादनमा अग्रसरता लिन नसक्ने गम्भीर विषय हो । आफू संलग्न निर्णय कार्यान्वयनमा अग्रसरता लिन नसक्ने स्थिति झन भयावह बनेको देखिन्छ ।

इच्छाशक्ति वा कार्यक्षमता ह्रासोन्मुख अवस्थासामु ओझेलमा परेको वस्तुस्थितिलाई सम्मान, सम्बोधन र व्यवस्थापन गर्न सबै क्षेत्र र तहमा पुस्तान्तरणको प्रक्रिया आरम्भ गर्नुपर्ने जरुरी छ । पुस्तान्तरणको प्रक्रिया आरम्भ गर्दा प्रतिस्थापनको तहमा उभिन सक्ने सहायक शक्ति, मातहतको पंक्ति र वैकल्पिक क्षमता कसरी विकसित भएको छ ।

समाजको चरित्र
नेपाली समाजको चरित्र सामान्यतः सामाजिक जनजीवनको प्रतिनिधित्व र नेतृत्व गर्ने राजनीतिक पार्टी र तिनको आचरणमा देखिन्छ । वर्गीय धरातल नभएका, कमजोर भएका र खुस्किएका राजनीतिक शक्तिहरू पनि आजको राजनीतिक लडाइँमा सामेल भएकाले वर्गीय प्रतिनिधित्व र उपस्थितिको नेतृत्व अपवादबाहेक सबै दलबलले गर्न सक्दैनन् ।

सामाजिक अर्थव्यवस्था र यसको अर्थराजनीतिलाई राजनीतिक दलले कसरी लिएका छन् ? समृद्ध तुल्याउन कसरी अग्रसरता लिएका छन् ? राजनीतिकसत्ताको अन्तरजीवन व्यवस्थापन र राजकीयसत्ताको सन्तुलित उपस्थितिमाझ के छाप छाडेका छन् ? के प्रभाव पारेका छन् ? चुनावी समयताका जारी गरिने प्रतिबद्धताबाहेक अघिपछि पनि सडक, सदन र सरकारमार्फत लिएका अग्रसरताहरू कस्ता–कस्ता छन् ? जस्ता प्रश्नोत्तरमा पाइने व्यवहारिक जवाफले राजनीतिक दल, नेता र कार्यकर्ताको चरित्र निफन्न सकिन्छ ।

नेपालमा मूलतः पाँच प्रकारका राजनीतिक चरित्रहरू क्रियाशील छन् ।

१. आफ्नै भू–राजनीतिक विशेषतामा आधारित सवल, समुन्नत र समृद्ध अर्थराजनीतिका मौलिक दृष्टिकोणले समाजवादउन्मुख राज्यको आधारशीला निर्माण गर्न यसको रणनीतिक महत्त्वका साथ क्रियाशील परिवर्तनका पक्षधर र देशभक्तिपूर्ण आन्दोलनको पर्याय राजनीतिक शक्ति– जसको नेतृत्व नेकपा (एमाले) ले गरेको छ ।

२. कम्युनिष्ट क्रान्तिकारिताको आडमा जनमतमाझ त्रासको मनोविज्ञान सिर्जना गर्दै आएको अस्थिर राजनीतिक शक्ति– जसको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गर्छ । एकसूत्रीय उद्देश्यका साथ कार्यनिर्दिष्ट रहँदै अहिले यतिबेला एमाले सक्ने दाउँमा बनेको काँग्रेस सम्मिलित सरकारको नेतृत्व गर्दै आएको छ ।

३. सामान्यतः दैनन्दिन जीवनमा कुनै पनि खालको अभाव, तनाव, हाहाकार, महामारीको प्रभाव र असरले फरक नपार्ने समाजको निश्चित घरघराना र मध्यमवर्गीय पंक्तिको नेतृत्व गर्ने नेपाली काँग्रेस– जसले सामान्तवाद बुझ्दैन, नेकरशाही र दलाल पूंजीवादलाई आत्मसात गर्छ ।

४. प्राप्त राजनीतिक दृष्टिकोणमा तुँवालो छाएझैँ अग्रगमनकारी छलाङभन्दा पनि यथास्थिति र वर्णप्रधान सामान्तवादको प्रतिनिधित्व गर्ने राजा सहितको पश्चगामी राजनीतिकसत्तामा रमाउने कुचेष्टा गर्ने राजनीतिक शक्ति– जसको नेतृत्व राप्रपाले गर्छ ।

५. राजनीतिक लडाइँ लड्नबाट टाढिएका, तथापि लडाइँको प्रतिफलस्वरुप प्राप्त राज्य व्यवस्थामा अवसर भोग गर्न च्याउसरि उम्रिएका क्षेत्रीय र गोत्रीय राजनीतिक शक्ति– जसको नेतृत्व जसपा, तमलोपा, रास्वपा आदिले गरेका छन् ।

राजनीतिक लडाइँ

हिजो लडाइँको एउटा विषय थियो, एउटा विशेषता थियो र एउटा तौरतरिका थियो । मूलतः यो राजनीतिक लडाइँ थियो । राजनीतिक लडाइँ जितिएसँगै मानिसको अवस्थालाई व्यवस्थासँग जोड्ने लडाइँ सतहमा पोखिएको छ । स्वभावतः अब आज लडाइँको विषय फेरिएको छ, तौरतरिकाहरू फेरिएका छन् । यसबाट समाजलाई कसरी बचाउने ? नेतृत्व कसरी गर्ने ? सर्वोपरि महत्त्वका साथ ध्यान दिन जरुरी छ ।

आजको लडाइँ जस्तो कि सामाजिक हिसावले पीडित र पीडकबीचको लडाइँ, प्रकृति बचाउन खोज्ने र विनास गर्न खोज्नेबीचको लडाइँ, प्रकृति संरक्षण गर्न खोज्ने र यसलाई जोखिममा ल्याउने शक्तिबीचको लडाइँ, निर्भयतापूर्वक बाँच्न र बच्न खोज्ने र निहत्या मानिसलाई सक्न खोज्ने प्रयासरत शक्तिबीचको लडाइँ, मानिसको सामरिक उन्नति–प्रगति गर्न चाहने र पशुतुल्य अवोन्नति गराउन खोज्नेबीचको लडाइँ, परस्पर हस्तक्षेप गर्ने र त्यसबाट जोगिन खोज्नेबीचको लडाइँ, सम्मानजनक परिश्रम गर्ने र अपमानजनक ठग्ने र ठगिखाने शक्तिबीचको लडाइँ, कर्तव्य पालन गर्न चाहने र लापरबाही गर्नेबीचको लडाइँ, परस्पर वेवास्था गर्ने र हेरचाह गर्नेबीचको लडाइँ, इमान्दारी र भ्रष्टचारीबीचको लडाइँ, संरचना बनाउने र सिर्जना भत्काउने बीचको लडाइँ, उपयोग र दुरुपयोगको मान्यताबीचमा लडाइँ, परस्पर मानवीय मन राख्ने अर्थात् माया गर्ने र घृणा गर्नेबीचको लडाइँ, विलासी र परिश्रममा आधारित जनमनको लडाइँ, राष्ट्रवादी र देशद्रोहीबीचको लडाइँ, नैतिक र अनैतिकबीचको लडाइँ, इमान्दार र वैमानबीचको लडाइँ, समाजलाई घचेट्ने र खुट्टा तान्नेबीचको लडाइँ, आदि–आदि ।

विकसित परिस्थिति र परिवेशले सिर्जना गरेको यो लडाइँ जित्न र उछिन्न सक्ने नेतृत्व आजको आवश्यकता हो ।

राजनीतिक चरित्रको प्रभाव

प्राप्त जनमत र सत्तामा रहँदा वा सत्ताबाहिर हुँदा पूर्णतः योग्यताका साथ सम्पादित आफ्नो कार्यकौशलताको प्रयोगको दृष्टिकोणले भन्छ– एमाले देशको पहिलो र निर्विकल्प शक्ति हो । पछिल्लो दशकयता एमालेभित्र हुर्किएका कतिपय खराब र त्याज्य आचरणलाई निस्तेज गर्न सकिएन भने एमालेले हार्ने भनेको आफ्नै कारणले हो, बाह्य होइन भन्ने विश्लेषणमा पुग्नुपर्ने दिन नजिकै रहनेछ ।

दल अदलबदलको प्रयोग सामान्य झैँ भएको छ । दलभित्र नै चुलिएको गजदम्भ घुर्की, घुर्कीको पुरस्कार प्रतिफल, दल अदलबदलमै स्पेश पाएका र यसमा भविष्य देखेकाले निरुत्साहित गर्नुपर्ने खराब र त्याग्य आचरणलाई झन उत्साहित तुल्याएका छन् । यो मूलतः दक्षिणपन्थ अवसरबाद हो । यो मौलाउन पायो भने उम्लिएको दुध पोखिएपछि सेलाए झैँ सेलाउन पनि सक्छ, यदाकदा अतिउग्र बन्न पनि सक्छ । यसप्रकारको पात्र र पात्र विशेष प्रवृत्तिलाई बेलाछँदै चिन्न सक्नुपर्छ ।

हामीकहाँ आफूसम्बद्ध दलबाहेक अरुअरु पनि सहयात्री राजनीतिक दलका राजनीतिक मूल्यमान्यता, दर्शन, सिद्धान्त, राजनीतिकसत्तासँग जोडिएको चरित्र, राजकीयसत्ताबाट विकसित पात्र विशेषको भूमिकासम्बन्धी अध्ययन, राजनीतिक प्रवृत्ति, तिनका कार्यनीतिक र कार्यक्रमिक पक्षबारे अध्ययन गर्ने, विवेचना गर्ने, विमर्श गर्ने, विश्लेषण गर्ने र संश्लेषण गर्ने बानी अथवा पठन संस्कृति खस्कँदो अवस्थामा छ । टिकाटिप्पणीमा रमाउने, आत्मप्रशंसामा खुशी हुने र मुनाफा आधारित राजनीतिक संलग्नता बढाउने क्रम बढ्दो छ । यसले पनि हामीलाई निकै गलाउँदै लगेको यथार्थलाई स्वीकार्न सक्नुपर्दछ ।

केही अपवाद पात्र र घटनाबाहेक पार्टी संगठनलाइ अप्ठ्यारो पर्दा भाग्ने, टाउको लुकाउने वा पार्टी छोड्ने, पार्टी नेतृत्वविरुद्ध जथाभावी बोल्ने, लेख्ने र पार्टीको आकार बलवान भए आफ्नो कसिलो हिस्सेदारी खोज्ने । आफूले अवसर पाए पार्टीको निकै अग्लो गुणबखान गर्ने, अमुक व्यक्तिले अवसरमा पाए उसका अघिपछि लाग्ने र खट्ने तर पार्टीको अभियानमा, पार्टीको अपीलमा सामेल नहुने, गुनासो मात्र गर्ने । संगठन बिस्तारको जिम्माबाट पन्छिने तर अवसर आए निर्विकल्पपात्रको रूपमा आफूलाई दावा गर्ने । अनुचित कर्ममार्फत कार्यकर्ता पंक्ति र जनमतलाई प्रभावित पार्न खोज्ने । जनसम्पर्क तेड्दै नेताको सम्पर्क बढाउने । अमुक नेताको चाकडी र प्रशंसामा रमाउने, क्रमशः यसैमा दिन बिताउने । अधिबेशन र निर्वाचनताका थरिथरिका गुट उपगुट बनाउँदै व्यापक चलखेल गर्ने र अन्य बेला व्यक्तिगत हितअनुकूल कार्याजनमा लाग्ने । बिचारमा कहिल्यै अडिग नहुने, नेताको भक्तिभाव र स्तुतिमा रमाउने । संगठनको लक्ष्य, उद्देश्यभन्दा पनि आफ्नो हितअनुकूल बुर्कुसी, बहस र पैरवी गर्ने, आफ्नो उपस्थिति र हितप्रतिकूल भए जथाभावी छाट्ने, स्वयंमा निरास हुने र पलायन हुने । जाती, लिंग र भूगोललाई आफूअनुकूल व्याख्या विश्लेषण गर्ने । ठोस परिस्थितिको ठोस विश्लेषणभन्दा आफ्नो प्रभावको प्रचार गर्ने, सत्यसँग होइन शक्तिसँग नतमस्तष्क हुने । आन्दोलन र संघर्षका क्रममा देखा नपर्ने तर अवसरमा प्राप्तिको अंकगणित गाउँदै अघि सर्ने । षड्यन्त्र, घात–प्रतिघात, जालझेल र तिकडम गरिरहने । सामुहिकता र एकतालाई भाँजो हाल्ने । अस्वस्थकर आलोचना, झुटको पुलिन्दा, आत्मरति र गालीबेइजतिको साहरा लिने । सत्य पक्ष लुकाइदिने मात्र होइन, अक्षम्य अपराध गरे झैँ शैलीमा तानाबुना कसिदिने । पद प्राप्तिको आशक्ति र मृगतृष्णालाई दाउँमा राखेर गर्न हुने र नहुने सबै कर्म गर्ने । आफूलाई मात्र योग्य ठाने र अरु सबै रैतिसरह अयोग्य हुन भन्ने खालको हवाला दिने । आफ्नो एकल स्वार्थका लागि प्रतिस्पर्धी शक्तिसँग पनि गलत सम्झौता गर्ने । सामुहिकतालाई लत्याउने, गलहत्याउने र आफूकेन्द्रीत बखान गर्ने । बिचार र बिचारअनुरुप व्यवहारको पक्ष कम तर चाकडी र प्रचारको होडमा रहने । सत्तास्वार्थमा आशक्त, वर्गीयस्वार्थमा विभक्त रहने ।

अझ चुनावताका वा अधिवेशन छेउछाउ, आफू र आफूअनुकूल भए कम्मर कसेर लाग्ने, नभए नलाग्ने, नखट्ने प्रवृत्ति पनि ह्वात्तै मोटाएको छ, मौलाएको छ । आफू र आफूअनुकूल भए लाग्नु, खट्नु र नभए नलाग्नु, नखट्नु भनेको पार्टीको हुनु होइन, अमुक व्यक्तिको भरिया मात्र हो । पार्टीको भए पनि वा आफू भए पनि, एक समान लाग्नु, खट्नु भनेको मात्र पार्टीको हुनु हो ।

कसरी बन्ने र बनाउने 

सामन्तवादी निरंकुशताविरुद्ध लडाइँ लड्दै आएको राजनीतिक दल र कार्यकर्ताको बल पुस्तान्तरणको प्रक्रियामा छ । माथिल्लो हरफमा भनिए झैँ अवसरवादउन्मुख खराब र त्याज्य आचरणको जम भत्किएन भने दर्शन, बिचार, सिद्धान्त र राजनीतिक संगठनका हिसावले बलियो एमाले पंक्ति कमजोर हुने निश्चित प्रायः छ । यसै पनि एमालेलाई कमजोर पार्न ठूलै सामर्थ्य परिचालन र प्रयोग भइरहेको बेलामा छौँ हामी । हामीमाथि परिचालित शक्तिलाई कसरी चिन्ने ? हामीमाथि भएको प्रयोगलाई कसरी निस्तेज पार्ने ? र हामीमाथि भइरहेको प्रहारबाट कसरी बच्ने ? केस्राकेस्रा विमर्श हुनुपर्छ ।

एमालेलाई कमजोर पार्न ठूलै सामर्थ्य परिचालन र प्रयोग भइरहेको बेलामा छौँ हामी । हामीमाथि परिचालित शक्तिलाई कसरी चिन्ने ? हामीमाथि भएको प्रयोगलाई कसरी निस्तेज पार्ने ? र हामीमाथि भइरहेको प्रहारबाट कसरी बच्ने ? केस्राकेस्रा विमर्श हुनुपर्छ ।

हामीले अवलम्बन गरेको संगठनात्मक प्रणाली र तहगत ढाँचा, कार्यान्वयनको विधि र पद्दति सर्वाधिक राम्रो र अभ्यस्तसिद्ध छ । यति हुँदाहुँदै पनि कलह, सुलह, छक्कापन्जा र लेनदेनबाट संगठनलाई किन चलाउन खोजिन्छ ? संगठनात्मक जीवन यही कारणले पनि अस्तव्यस्त, अराजक र अकर्मण्य भएको होइन ? सैद्धान्तिक धरातलमाथि नउभिइकन र कसैको व्यवहारिक उपस्थितिलाई प्रतिस्थापन गर्न खोज्दा यसबाट राजनीतिक हल निस्किएला त ? मनलाग्दा व्यक्तिको प्रतिस्थापनलाई स्पेश दिँदै जाने हो भने व्यक्तिभन्दा पार्टी प्रधान हुने हाम्रो जीवित मान्यता कायम रहला र ?

नेकपा (एमाले) मूलतः जनतामा आधारित कार्यकर्ताको पार्टी हो । कार्यकर्ताको उपस्थितिसँगै पार्टीको उपस्थिति जगजाहेर हुने गर्दछ । प्रत्येक कार्यकर्ता पार्टी मातहत, व्यक्ति कमिटीको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, अल्पमत बहुमतको मातहत, कमिटी अधिवेशन वा महाधिवेशनको मातहत रहनु जनवादी केन्द्रीयताको मुख्य सार हो । यसमातहत रहनुको विकल्प छैन । आचरणयुक्त कार्यकर्ता पंक्ति सहितको एमाले अर्थात् निर्विकल्प एमाले निर्माणको विकल्प छैन ।

Back to top button