पाकिस्तान आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

गएराति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो ।

तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मा सिमित बन्यो । स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एक/एक विकेट लिए ।

पहिलो ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बन्यो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरे । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एक/एक विकेट लिएका थिए ।

पाकिस्तानसँगै यो समूहबाट न्यूजिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यूजिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ ।

दुई खेल जितेको भारतको ४ अंक रहेको छ । यो समूहमा अफगानिस्तानको पनि ४ अंक नै छ । नामिबियाको दुई अंक छ भने स्कटल्याण्ड अंकविहीन हुँदै बाहिरिएको छ । यद्यपी भारत र नामिबियाको अन्तिम खेल आज हुँदैछ ।

Back to top button